काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई टेलिफोन गरी रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
टेलिफोन वार्ताका क्रममा रुबियोले बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै विपत्तिको कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताएका छन्।
वार्तामा सभापति लामिछानेले बाढीपछि सरकारले खोजी, उद्धार तथा राहतका लागि उपलब्ध स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराएका थिए। साथै, नेपालमा रहेका विदेशी नागरिकसहित सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका थिए।
लामिछानेले विपद्को समयमा अमेरिकाले देखाएको सहयोग र सहानुभूतिप्रति अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्। रसुवा बाढीबाट भएको ठूलो क्षतिपछि विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय समुदायबाट नेपालप्रति सहयोग र ऐक्यबद्धता व्यक्त हुँदै आएको छ।