गौरादहमा रहेको क्लब हिमालयन टाइगरले हरेक वर्ष कुशे औँसीको अवसरमा ज्येष्ठ बुवाहरूलाई सम्मान गर्दै आएको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ।
क्लबले एक कार्यक्रमको आयोजना गरी गौरादह नगरपालिका वडा नम्बर २ का ३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो।
ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै उनीहरूले समाज र परिवारमा पुर्याएको योगदानको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुवेदीले ज्येष्ठ नागरिकहरू समाजका अनुभव, ज्ञान र संस्कारका महत्वपूर्ण स्रोत भएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै उनीहरूलाई सम्मान गर्ने संस्कारले नयाँ पुस्तामा समेत सकारात्मक सन्देश जाने धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, नगर प्रवक्ता तथा गौरादह नगरपालिका वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारीले ज्येष्ठ नागरिकले समाज निर्माणमा पुर्याएको योगदानको स्मरण गर्दै उनीहरूको अनुभवलाई नयाँ पुस्ताले सिकाइका रूपमा लिनुपर्ने बताउनुभयो।
उहाँले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु केवल औपचारिकता नभई समाजप्रतिको जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा क्लबकी निवर्तमान अध्यक्ष सरिता कटुवाल कार्की तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
क्लब हिमालयन टाइगरकी अध्यक्ष निर्मला रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रम क्लबकी सचिव निर्मला शर्माले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा सम्मानित ज्येष्ठ नागरिकलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।