मुस्ताङ । रसुवाको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केही दिनमै चीनले तातोपानी नाकासमेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ।
चीनको केरुङबाट तिब्बत हुँदै ढोङमसेन र लिची नाका पार गरेर कोरला ल्याइएका नेपाली नागरिक तथा सवारीसाधनलाई नेपाल प्रवेश गराउने क्रममा दुवै देशका अधिकारीहरूले आवश्यक सहजीकरण गरिरहेका छन्।
रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन प्रभावित भएपछि कोरला नाका अहिले नेपाल–चीन आवागमनको वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको हो। तत्कालका लागि यसले चीनमा रोकिएका नेपाली नागरिकलाई स्वदेश फर्काउन सहयोग पुगेको छ भने दीर्घकालीन रूपमा कोरला नाकाको व्यापारिक, पर्यटकीय र रणनीतिक महत्त्वसमेत थप उजागर भएको छ।
नुन–अन्न व्यापारको पुरानो बाटो
कोरला नाका नेपाल–चीन आवागमनका लागि नयाँ मार्ग भने होइन। स्थानीय इतिहासकारहरूका अनुसार राणाकालदेखि प्रजातन्त्र र पञ्चायतकालसम्म मुस्ताङको यही क्षेत्र भोट र पहाडबीचको प्रमुख व्यापारिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो।
त्यतिबेला टुकुचे प्रमुख व्यापारिक तथा भन्सार केन्द्रका रूपमा परिचित थियो। तिब्बती व्यापारीहरू नुन, ऊन र पशुचौपाया लिएर टुकुचेसम्म आउने गर्थे भने नेपालबाट जौ, मकै, चामल, सातु तथा पित्तलका भाँडाकुँडा तिब्बततर्फ लैजाने गरिन्थ्यो।
नुन र अन्नमा आधारित यही व्यापारले मुस्ताङको आर्थिक तथा सामाजिक जीवनलाई लामो समयसम्म चलायमान बनाएको थियो।
तर सन् १९५०–५१ पछि तिब्बतमा चिनियाँ नियन्त्रण स्थापित भएसँगै पुरानो व्यापारिक प्रणाली क्रमशः कमजोर हुँदै गयो। सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेसँगै परम्परागत व्यापारिक गतिविधिमा समेत ठूलो परिवर्तन आयो।
सीमामा भएको गोलीकाण्डदेखि व्यापारिक मार्गको अवसानसम्म
सन् १९६० जुन २८ अर्थात् वि.सं. २०१७ असार १५ मा कोरला नजिकै चिनियाँ सेनाले नेपाली सीमा गस्ती टोलीमाथि गोली चलाउँदा एक नेपाली सुरक्षाकर्मीको मृत्यु भएको ऐतिहासिक अभिलेखमा उल्लेख छ।
चिनियाँ पक्षले नेपाली टोलीलाई तिब्बती विद्रोही ठानेर कारबाही भएको जनाएको थियो। नेपालले कूटनीतिक विरोध जनाएपछि चीनले घटनाप्रति क्षमा माग्दै ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको विवरण पाइन्छ।
त्यसअघि २००७ सालपछि भारतले लोमान्थाङ र जोमसोम क्षेत्रमा सैनिक पोस्ट स्थापना गरेको स्थानीय इतिहासमा उल्लेख छ।
यस्ता राजनीतिक तथा सुरक्षा घटनाक्रमसँगै पुरानो व्यापारिक संरचना कमजोर हुँदै गयो। व्यापार खस्किएपछि टुकुचेका शेरचनलगायत थकाली व्यापारीहरू काठमाडौं, विभिन्न जिल्ला सदरमुकाम र तराईका बजारतर्फ व्यापार विस्तार गर्न थाले।
कतिपयले बाटोछेउमा खरका भट्टी सञ्चालन गरे। समयक्रममा ती भट्टीहरू थकाली भान्साघर, होटल, लज हुँदै आधुनिक आतिथ्य व्यवसायमा रूपान्तरण भए।
सडक विस्तारसँगै फेरिँदै कोरलाको सम्भावना
पञ्चायतकालदेखि नै कोरला नाका सञ्चालन तथा सडक पहुँच विस्तारका प्रयास हुँदै आए पनि पूर्वाधारको अभाव र राजनीतिक उतारचढावका कारण अपेक्षित गति लिन सकेनन्।
२०६२/६३ को जनआन्दोलनपछि मुस्ताङमा सडक विस्तारले गति लिएसँगै माथिल्लो मुस्ताङसम्म सवारीसाधन पुग्न थाले। त्यसपछि २०७२ सालको भूकम्प र दक्षिणतर्फको नाकाबन्दीले चीनसँग जोडिने उत्तरी नाकाहरूको रणनीतिक महत्त्व थप बढायो।
त्यसयता सरकारले कोरला नाकासम्मको सडक स्तरोन्नति र कालोपत्रेका लागि विभिन्न चरणमा बजेट विनियोजन गर्दै आएको छ। सडक सुधार तथा पूर्वाधार निर्माणका कामसमेत विभिन्न चरणमा अघि बढिरहेका छन्।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नोर्बु गुरुङका अनुसार गत वर्ष लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिले कोरला नाका हुँदै भिसा लगाएर आफ्नै खर्चमा तिब्बतको ल्हासा र सिगात्सेसम्म भ्रमण गरेका थिए।
उनका अनुसार कोरला हुँदै आवागमन थप विस्तार हुन सके माथिल्लो मुस्ताङको पर्यटन, स्थानीय व्यापार र सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना हुन सक्छ।
संकटले देखाएको वैकल्पिक सम्भावना
नेपाल–चीन सीमामा रहेका तातोपानी, केरुङ र कोरला तीनवटै नाकाको आ–आफ्नै ऐतिहासिक महत्त्व छ। तर रसुवाको बाढी तथा पहिरोका कारण रसुवागढी–केरुङ मार्ग अवरुद्ध हुनु र तातोपानी नाका पनि प्रभावित भएपछि कोरला वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको घटनाले यसको रणनीतिक महत्त्वलाई फेरि सतहमा ल्याएको छ।
एक समय तिब्बतबाट नुन र नेपालबाट अन्न ओसार्ने यही मार्ग अहिले चीनमा रोकिएका नेपाली नागरिकलाई स्वदेश फर्काउने वैकल्पिक प्रवेशद्वार बनेको छ।
तत्कालीन संकट व्यवस्थापनमा कोरला नाकाको प्रयोगले राहत पुर्याएको छ। साथै, यस घटनाले भविष्यमा नेपाल–चीन व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनका लागि कोरला नाकालाई थप व्यवस्थित र भरपर्दो मार्गका रूपमा विकास गर्नुपर्ने सम्भावनालाई समेत बलियो बनाएको छ।