दमक, २० भदौ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको दमकमा आज भव्य श्रीकृष्ण रथयात्रा तथा शोभायात्रा निकालिँदैछ। श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिको आयोजनामा हरेक वर्ष हुँदै आएको रथयात्रा यस वर्ष पनि धार्मिक तथा सांस्कृतिक झाँकीसहित नगर परिक्रमा गराइने भएको हो।
समितिका अनुसार रथयात्रा आज शनिबार दिउँसो २ बजे सुरु हुनेछ। दमक–६ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा हनुमान मन्दिर, लेखनाथ चोक, इलाका प्रहरी कार्यालय हुँदै दमक जेसीज चाेक , फर्निचर लाईन, पशुपति मन्दिर, शंखधर चाेक, भृकुटी चाेक, भानुभक्त चाेक, दमक न.पा. हुदै पुन: राधाकृष्ण मन्दिरमा पुगेर सम्पन्न हुनेछ।
‘सदाका लागि, सबैका लागि’ भन्ने भावनासहित आयोजना हुँदै आएको रथयात्रामा दमकका विभिन्न धार्मिक संघ–संस्था, सामाजिक संघ–संस्था तथा स्थानीयवासीको सहभागिता रहने आयोजकले जनाएको छ। रथयात्रामा भगवान् श्रीकृष्णको रथसँगै विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने तयारी छ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा दमकमा निकालिने रथयात्राले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ। समितिले सम्पूर्ण धार्मिक तथा सामाजिक संघ–संस्था र दमकवासीलाई आफ्नो संस्थाको पहिचानसहित रथयात्रामा सहभागी हुन आग्रह गरेको छ।