विराटनगर । मोरङ जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएपछि १९ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालेर अन्यत्र स्थानान्तरण गरिएको छ।
विराटनगर–८ स्थित कारागारमा शुक्रबार दिउँसो दुई पक्षबीच झडप भएको हो। मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार ‘बी ब्लक’मा रहेका १९ जना कैदीबन्दीलाई बाहिर निकालिएको हो।
कैदीबन्दीलाई यातना दिएको तथा रकम असुल गरेको आरोपमा चौकीदार विशाल निरौला पक्षमाथि अर्को समूहले आरोप लगाएपछि विवाद बढेर झडप भएको प्रहरीले जनाएको छ। यसअघि ‘बी ब्लक’मा प्रहरी प्रवेशमा रोक लगाइएको थियो। प्रहरीले ब्लकमा प्रवेश गरेपछि कैदीबन्दीको समूहले विरोध गर्दै नाराबाजीसमेत गरेको थियो।
झडपपछि १९ जनालाई अन्यत्र स्थानान्तरण गरिएको र अहिले कारागारको अवस्था सामान्य रहेको प्रहरी प्रमुख कटवालले बताएका छन्।