धनकुटा । धनकुटा जिल्ला अस्पतालमा अब बिरामीलाई आवश्यक पर्ने रगत अस्पताल परिसरबाटै उपलब्ध हुने भएको छ । अस्पताल स्थापना भएको ११३ वर्षपछि पहिलोपटक यहाँ रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले एक कार्यक्रमबीच रक्तसञ्चार सेवा केन्द्रको उद्घाटन गरेसँगै अस्पतालमै रगत व्यवस्थापनको सुविधा सुरु भएको हो । यससँगै आकस्मिक उपचार, दुर्घटना, प्रसूति, शल्यक्रिया तथा अन्य जटिल अवस्थाका बिरामीका आफन्तले रगत खोज्न सुनसरी वा मोरङ पुग्नुपर्ने बाध्यता केही हदसम्म हट्ने भएको छ ।
यसअघि धनकुटा अस्पतालमा उपचाररत बिरामीलाई रगत आवश्यक परे आफन्तले जिल्ला बाहिर पुगेर रगत ल्याउनुपर्ने वा सामाजिक सञ्जालमार्फत रक्तदाता खोज्नुपर्ने अवस्था थियो । यसले उपचारमा ढिलाइसँगै बिरामीका आफन्तलाई आर्थिक र मानसिक भारसमेत थप्ने गरेको थियो ।
डेढ दशकदेखिको प्रयासपछि सेवा सञ्चालन
धनकुटा अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालन गर्ने प्रयास करिब १५ वर्षअघिदेखि हुँदै आएको थियो । तर आवश्यक भवन, उपकरण, जनशक्ति तथा मापदण्ड पूरा गर्न नसक्दा सेवा सञ्चालन हुन सकेको थिएन ।
नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखा, अस्पताल विकास समिति, स्थानीय तह, विभिन्न संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीको सहयोगपछि लामो समयदेखिको प्रयासले अन्ततः मूर्तरूप पाएको हो ।
अस्पताल विकास समितिका अनुसार केन्द्रमा २४ घण्टा सेवा उपलब्ध गराउने गरी चार जना प्राविधिक तथा कर्मचारीको व्यवस्था गरिएको छ ।
देश–विदेशबाट जुट्यो आर्थिक सहयोग
रक्तसञ्चार केन्द्र स्थापना तथा सञ्चालनका लागि देश तथा विदेशमा रहेका नेपाली र विभिन्न संघसंस्थाबाट १६ लाख ४५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ ।
एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो । अमेरिका, जापान, चीन, अष्ट्रेलिया, हङकङ, क्यानडालगायत विभिन्न देशमा रहेका नेपालीले केन्द्र स्थापनाका लागि सहयोग गरेका छन् ।
लामो समयको प्रयासपछि सञ्चालनमा आएको यो सेवाले धनकुटा र आसपासका बिरामीका लागि आकस्मिक उपचार थप सहज हुने अपेक्षा गरिएको छ । यद्यपि केन्द्रलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक रगत तथा सामग्रीको आपूर्ति सुनिश्चित गर्न स्थानीय तह, संघसंस्था र नागरिकको निरन्तर सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।