झापा । झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल आउने भएका छन्। गृह मन्त्रालयको निर्णयअनुसार सहसचिव पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको हो।
झापाको हल्दिबारी–१, गोलधाप स्थायी घर भएका पोखरेल यसअघि जिल्ला प्रशासन कार्यालय झापामा प्रशासकीय अधिकृतका रूपमा काम गरिसकेका छन्। उनी मालपोत कार्यालय झापाको प्रमुखसमेत भइसकेका छन्। अनुभवी तथा मिलनसार अधिकारीका रूपमा परिचित पोखरेल लामो समयदेखि प्रशासनिक क्षेत्रमा कार्यरत छन्।
यसैबीच हालका झापा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई गृह मन्त्रालयमा तानिएको छ। गेलालले राजीनामा दिए पनि उक्त राजीनामा भने हालसम्म स्वीकृत नभएको जनाइएको छ।
पोखरेलले जिम्मेवारी सम्हालेसँगै झापाको प्रशासनिक नेतृत्वमा परिवर्तन हुनेछ। जिल्लाको शान्ति–सुरक्षा तथा प्रशासनिक व्यवस्थापन उनको प्रमुख जिम्मेवारी हुनेछ।