संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुक प्रहारबाट एक शिक्षकको हत्या भएको छ।
कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार राति गोली प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रहरीका अनुसार राति करिब ७ बजे विद्यालय नजिकैबाट उनीमाथि गोली प्रहार भएको थियो।
खाना खाएर हात धुन बाहिर निस्किएका राईमाथि गोली प्रहार भएको र बन्दुकको आवाजसँगै उनी ढलेको प्रत्यक्षदर्शी शिक्षिका टिकामाया राईले बताएकी छन्। गोली लागेर राईको देब्रे कोखमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ।
शिक्षक राईमाथि गोली कसले र किन प्रहार गरेको हो भन्ने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।