लन्डन । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेलायतमा रहेका नेपालीहरूले मातृभूमिप्रतिको जिम्मेवारी देखाउँदै राहत तथा उद्धारका लागि करोडौँ रुपैयाँ सहयोग जुटाएका छन्।
तमुधिं यूकेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। एनआरएनए यूकेले करिब ५२ लाख रुपैयाँ संकलन गरिसकेको जनाएको छ भने साउथ वेस्ट नेपाली समाज यूकेले १० लाख ३५ हजार रुपैयाँ कोषमा जम्मा गरिसकेको छ।
त्यस्तै, नेपाली चिकित्सकहरूको संस्था एनडीए यूकेले ११ लाख, पूर्व एनआरएनए अध्यक्ष कुल आचार्य तथा होली काउ कम्पनीले ११ लाख ११ हजार १११ रुपैयाँ र आईएमई लन्डनले १० लाख रुपैयाँ सहयोग गरेका छन्। बेलायतस्थित विभिन्न नेपाली संघसंस्था, व्यवसायी तथा समुदायले पनि निरन्तर सहयोग जुटाइरहेका छन्।
चार भञ्ज्याङ तमु समाज यूकेले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ भने पासा पुचः गुथि यूकेले १० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ। अन्य नेपाली संघसंस्था तथा व्यवसायबाट पनि लाखौँ रुपैयाँ राहत कोषमा जम्मा गरिएको छ।
यसैबीच, बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतमा दीप प्रज्वलन गर्दै राहत संकलनसमेत गरिएको छ। बेक्सली नेपाली समाजले मात्रै ६ हजार ५ सय पाउन्डभन्दा बढी रकम संकलन गरेको जनाएको छ।
उता, बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले नेपालमा बाढी तथा विपद्पछिको राहत र उद्धारका लागि ५ मिलियन पाउन्ड सहयोग गर्ने घोषणा गरेका छन्। विपद्को समयमा बेलायतस्थित नेपाली समुदाय र बेलायती सरकारबाट प्राप्त सहयोगले प्रभावितको उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।