दमक । हंसे दुम्से सामुदायिक वन उपभोक्ता समिति, दमक–२ र ३ झापाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
केही दिनअघि परिषद् सदस्यको निर्वाचन सम्पन्न भएसँगै आजदेखि कार्यसमिति निर्वाचनको प्रक्रिया अघि बढाइएको हो। निर्वाचन कार्यक्रमअनुसार भदौ १६ गते मतदाता नामावली प्रकाशन, भदौ १७ गते नामावली संशोधन तथा अन्तिम नामावली प्रकाशन गरिएको छ।
त्यस्तै, भदौ १८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। उम्मेदवारहरूको प्रारम्भिक नामावली सोही दिन दिउँसो ४ बजे प्रकाशन गरिनेछ भने भदौ १९ गते उम्मेदवारविरुद्ध दाबी–विरोध तथा छानबिन र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।
निर्वाचन कार्यतालिकाअनुसार भदौ २१ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी सोही दिन नतिजा सार्वजनिक गरिने निर्वाचन संयोजक गोमादेवी प्रसाईंले जानकारी दिएकी छन्।
निर्वाचनले वन उपभोक्ता समूहको आगामी कार्यसमिति चयन गर्ने भएकाले उपभोक्तामाझ समेत चासो बढेको छ।