काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पार्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।
बिहीबार मलेसियाको यूकेएम–यूएसडी ओभलमा भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा अर्जुन कुमालले अविजित ४५ रन बनाए। उनले ६८ बलमा ४ चौका प्रहार गरे। यस्तै, इशान पाण्डेले २०, रोहितकुमार पौडेलले १० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन जोडे। अर्जुन र इशानबीच तेस्रो विकेटका लागि ५७ रनको साझेदारी भएको थियो।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भएको थियो। उसका लागि कप्तान सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ र मोहम्मद स्याहदत रमीलले १३ रन बनाए।
नेपालका करण केसीले ४ विकेट लिए भने ललितनारायण राजवंशीले २ तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए।
लगातार दुई खेल जितेको नेपाल ४ अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा छ। पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।
नेपालले अब आइतबार साउदी अरेबियासँग खेल्नेछ। उक्त खेल जित्दै नेपाल सेमिफाइनल यात्रा थप मजबुत बनाउने लक्ष्यमा हुनेछ।