काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालसहित हिमालय क्षेत्रमा भविष्यमा पनि हिमनदी बाढीको जोखिम उच्च रहेको चेतावनी दिएको छ। जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिँदा हिमताल फुट्ने तथा विनाशकारी बाढी आउने खतरा बढिरहेको राष्ट्रसंघकी सहायक महासचिव कन्नी विग्नराजाले बताएकी छन्।
अध्ययनअनुसार नेपालका कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा जोडिएका ४७ वटा हिमताल तथा हिमनदी सम्भावित जोखिममा छन्। तीमध्ये ४२ वटा कोशी, तीन गण्डकी र दुई वटा कर्णाली बेसिनमा रहेका छन्। जोखिमयुक्त ४७ मध्ये २५ वटा तिब्बत, २१ वटा नेपाल र एउटा भारतमा रहेको अध्ययनले देखाएको छ।
विशेषज्ञहरूका अनुसार हिमनदी पग्लिँदै जाँदा बनेका हिमताल अचानक फुटेमा तल्लो क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्छ। जलवायु परिवर्तनको प्रभाव बढ्दै गएसँगै यस्ता हिमनदीजन्य विपद् भविष्यमा पनि दोहोरिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।