काठमाडौं । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि प्रभावितका लागि विभिन्न देशबाट मानवीय सहायता तथा राहत सामग्री नेपाल आउन थालेको छ।
भारत, अमेरिका, चीन, जापान, बेलायत, अष्ट्रेलिया, यूएई, कतारलगायत देशले राहत सामग्री तथा उद्धार सहयोग उपलब्ध गराएका छन्। अमेरिकाले दुई सैन्य विमानमार्फत उद्धार तथा व्यवस्थापन सामग्री, प्राथमिक उपचार किट, स्ट्रेचर र माटो–ढुंगा हटाउने उपकरण पठाएको छ।
चीनले ३० करोड रुपैयाँ सहयोग गर्नुका साथै ५० टन राहत सामग्री र उद्धार टोली पठाएको छ। जापान, बेलायत र अष्ट्रेलियाले पनि विभिन्न राहत सामग्री उपलब्ध गराएका छन्। यूएईले ८३ टन राहत सामग्री पठाइसकेको छ भने थप १ करोड अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
पाकिस्तानबाट ८६ टन राहत सामग्री आउने क्रममा रहेको छ भने श्रीलंका, स्विट्जरल्यान्ड, एडीबी र विश्व बैंकलगायतबाट पनि आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता आएको छ।