काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा भदौ १० गते आएको विनाशकारी हिम–चट्टानी पहिरोपछि पनि जोखिम पूर्ण रूपमा नघटेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
उच्च हिमाली जोखिममा काम गर्ने हाइरिस्कको द्रुत जोखिम मूल्यांकनअनुसार पहिरो गएको क्षेत्रमा अझै अस्थिर हिम–चट्टान र हिउँको ठूलो भाग बाँकी रहेकाले आगामी दिनमा थप पहिरो वा हिम–चट्टान खस्न सक्ने सम्भावना छ। यस्तो घटना भदौ १० गतेजत्तिकै ठूलो नहुन सक्ने भए पनि यसले नदी तथा खोँचमा नयाँ जोखिम निम्त्याउन सक्ने बताइएको छ।
भदौ १० को तीव्र बहावले नदी आसपासका भिरालो पाखा अस्थिर बनाउनुका साथै ठूलो मात्रामा माटो, ढुंगा र गेग्रान थुपारेको छ। ठूलो वर्षा भएमा वा माथिल्लो क्षेत्रमा रहेका हिमतालको पानी अचानक बढे वा निकास भएमा ती सामग्री फेरि बगेर बाढीको जोखिम बढ्न सक्ने हाइरिस्कले जनाएको छ।
यसैबीच चीनको जलस्रोत मन्त्रालयले ड्रोन तथा भूउपग्रहबाट गरेको पछिल्लो निगरानीमा पनि लाङटाङ क्षेत्रमा हिम–चट्टान खस्ने जोखिम कायमै रहेको जनाएको छ। नदी किनारमा देखिएका साना पहिरो नदीमा खसेमा खोला थुनिएर नयाँ ताल बन्न सक्ने सम्भावनासमेत औंल्याइएको छ।
यद्यपि, चीनतर्फ बनेको मुख्य तालको पानी लगभग पूर्ण रूपमा निस्किसकेको र तत्काल ठूलो बाढी आउने जोखिम भने घटेको चिनियाँ अधिकारीहरूले बताएका छन्। वैज्ञानिकहरूको मुख्य चिन्ता भने अस्थिर पहाडी पाखा, नयाँ पहिरो र नदी थुनिन सक्ने सम्भावनामा केन्द्रित छ।