काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि उद्धार तथा विपद् व्यवस्थापनका लागि अमेरिकाले पठाएको विशेष उपकरण तथा राहत सामग्री नेपाल आइपुगेको छ।
अमेरिकाले दुई सैन्य कार्गो जहाजमार्फत ५ हजार उद्धार सामग्री, ५०० प्राथमिक उपचार किट, स्ट्रेचर र फ्रन्ट–एन्ड लोडर नेपाल पठाएको हो। यी सामग्री बाढी–पहिरोमा बेपत्ता तथा प्रभावितको खोजी र उद्धारमा प्रयोग गरिने जनाइएको छ।
अमेरिकी दूतावासका अनुसार नेपाल सरकारको अनुरोधमा उक्त सहायता पठाइएको हो। यसअघि अमेरिकाले बाढी प्रभावितका लागि घोषणा गरेको ३६ लाख अमेरिकी डलर सहयोगभन्दा यो थप सहायता हो। विशेषगरी जलविद्युत आयोजनाका सुरुङमा फसेका मानिसको उद्धारमा उपकरण उपयोगी हुने अपेक्षा गरिएको छ।