रसुवा । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र फसेको आशंका गरिएका २५ जनाको खोज तथा उद्धारका लागि उद्धार टोलीले वैकल्पिक प्रवेशमार्ग तयार गरेको छ।
मुख्य सुरुङमा ढुंगा, माटो र लेदो भरिएपछि करिब १०० मिटरभित्र पुगेको टोली थप अघि बढ्न नसकेपछि पेनस्टक पाइपमार्फत अर्को बाटो खोलिएको हो। प्राविधिक टोलीले पाइप हुँदै करिब १५० मिटर माथि पुगेर मानिस प्रवेश गर्न मिल्ने ‘म्यानहोल’ तयार गरेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले बताएका छन्।
बुधबार ठूलो वर्षा भएपछि तत्काल सुरुङभित्र प्रवेश गर्न नसकेको उद्धार टोलीले मौसम र सुरक्षा अवस्था अनुकूल भए बिहीबार बिहान म्यानहोलबाट सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार अघि बढाउने तयारी गरेको छ।
सुरुङभित्र प्रवेश गरेपछि मात्रै त्यहाँको वास्तविक अवस्था यकिन हुने आयोजनाले जनाएको छ। यसअघि नेपाली सेना, भारतीय तथा नेपाली प्राविधिकसहितको टोलीले मुख्य सुरुङबाट उद्धारको प्रयास गरे पनि ठूला ढुंगा र लेदोका कारण अघि बढ्न सकेको थिएन।