भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीपछि सामाजिक सञ्जालमा नेपाली सेनाको जस्तै देखिने पोसाक लगाएको एउटा समूहको तस्वीर तथा भिडियो भाइरल भयो। त्यसपछि यो समूहलाई लिएर विभिन्न चर्चा र प्रश्नहरू उठे। कतिपयले त यसलाई प्रधानमन्त्री बालेन शाहसँग जोड्दै ‘बालेनको निजी आर्मी’ समेत भन्न थाले।
तर, ग्रीन आर्मी नेपाल कुनै राजनीतिक दल वा कुनै व्यक्तिको निजी फौज भने होइन।
ग्रीन आर्मी नेपालका अनुसार यो अभियान २०७२ सालको विनाशकारी भूकम्पपछि सुरु भएको हो। विपद्का बेला राहत तथा उद्धारमा खटिएका युवाहरूले वातावरण संरक्षण र विपद् व्यवस्थापनमा युवालाई जोड्ने उद्देश्यले यो अभियान अघि बढाएका थिए।
पछि २०७७ साल भदौ ११ गते ग्रीन आर्मी नेपाललाई मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता गरिएको बताइएको छ। संस्थाले विद्यालय तहका विद्यार्थीलाई वातावरण संरक्षण, सरसफाइ, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम दिँदै आएको जनाएको छ।
हालसम्म देशभरका करिब ४ सयदेखि ५ सय विद्यालयका करिब ३० हजार विद्यार्थीलाई विभिन्न तालिम दिइएको संस्थाको दाबी छ।
तर अहिले सबैभन्दा बढी चर्चा यसको नाम र पोसाकलाई लिएर भइरहेको छ। हरियो रंगको पोसाक र ‘ग्रीन आर्मी’ नाम नेपाली सेनासँग मिल्दोजुल्दो देखिएपछि प्रश्न उठेको हो।
संस्थाका चिफ मार्सल सविन शर्माले भने आफूहरूले पोसाक प्रयोगका लागि गृह तथा रक्षा मन्त्रालय हुँदै जंगीअड्डाको राय लिएर काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट औपचारिक अनुमति लिएको दाबी गरेका छन्। नेपाली सेनाको सम्बन्धित निकायले पनि उक्त पोसाक नेपाली सेना वा अन्य सुरक्षा निकायको पोसाकसँग नमिल्ने राय दिएको बताइएको छ।
पछिल्लो समय त्रिशूली क्षेत्रमा आएको बाढीका क्रममा पनि ग्रीन आर्मीको टोली पुगेको थियो। पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा ११ जनाको टोली स्थानीय प्रशासनसँग समन्वय गरेर स्वयंसेवी रूपमा त्यहाँ पुगेको संस्थाले जनाएको छ।
टोलीले बाढी प्रभावित क्षेत्रका केही घरबाट कुखुरा, कुकुर लगायतका जीवजन्तुलाई सुरक्षित स्थानमा निकाल्न सहयोग गरेको बताइएको छ।
ग्रीन आर्मी नेपालका प्रमुख सल्लाहकारसमेत रहेका पूर्वआईजीपी खनालले पनि आफू संस्थासँग जोडिएको दुई वर्षभन्दा बढी भएको र युवाहरूले सल्लाह मागेपछि विपद् प्रभावित क्षेत्रमा जान सुझाव दिएको बताएका छन्।
संस्थाले आफू कुनै राजनीतिक दल वा व्यक्तिसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ।
भूकम्पको पीडाबाट सुरु भएको युवा अभियान अहिले बाढी उद्धारमा देखिएपछि फेरि चर्चामा आएको हो।