काठमाडौं । भोटेकोशी बाढीपछि आफ्ना आफन्त बेपत्ता भएका परिवारहरू अहिले त्रिवि शिक्षण अस्पतालको भित्तामा टाँसिएका तस्वीरमा आशाको खोजी गरिरहेका छन्।
यही भीडमा पछिल्ला पाँच दिनदेखि एउटा १२ वर्षीय बालक पनि निरन्तर देखिन्छन्। हातमा टेपको रोल बोकेर उनी बेपत्ताका आफन्तले ल्याएका तस्वीर भित्तामा टाँस्न सघाइरहेका छन्।
ती बालक हुन्—विवेक परियार।
कक्षा ५ मा पढ्ने विवेक बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन्। विद्यालय सकेपछि केही समय फुर्सद हुनेबित्तिकै उनी त्रिवि शिक्षण अस्पताल पुग्छन् र बेपत्ता भएका मानिसका तस्वीर टाँस्न सहयोग गर्छन्।
कसैको तस्वीर भित्तामा टाँस्नुपर्ने हुन्छ, कसैको तस्वीर माथिल्लो भागमा पुर्याउनुपर्ने हुन्छ। विवेक आफूले भ्याएसम्म सबै काममा सहयोग गर्छन्।
तर यो काम उनले पैसा कमाउनका लागि गरेका भने होइनन्।
बाढीपछि धेरै मानिस बेपत्ता भएको खबर सुनेपछि विवेक आफैं अस्पताल पुगेका थिए। त्यहाँ एक जना आफन्तले आफ्नो परिवारको सदस्य हराएको भन्दै तस्वीर टाँसिरहेको देखेपछि उनले यसको कारण बुझे।
विवेक भन्छन्—बाढीमा धेरै मानिस हराएका रहेछन्, त्यसैले तस्वीर टाँस्न सहयोग गर्दा कसैलाई आफ्नो हराएको मान्छे भेट्टाउन सहयोग पुग्ला भन्ने लाग्यो।
अहिले अस्पतालको भित्तामा टाँसिएका तस्वीरमध्ये धेरैजसो आफूले नै टाँसेको विवेक बताउँछन्।
तस्वीर टाँसिदिएबापत कतिपयले उनलाई पैसा दिन खोज्छन्। तर विवेक सुरुमा पैसा लिन मान्दैनन्। कसैले जबरजस्ती दिएपछि मात्र उनीसँग केही पैसा पुगेको छ।
विवेकको यो कामबारे उनकी आमा प्रमिलालाई भने सुरुमा थाहा थिएन।
अरूको घरमा बिरामीको स्याहार गरेर परिवार चलाइरहेकी प्रमिलाले एक दिन टेलिभिजनमा आफ्नै छोरालाई बेपत्ताका तस्वीरबीच देखिन्। त्यसपछि मात्र उनले विवेक अस्पतालमा पुगेर सहयोग गरिरहेको थाहा पाइन्।
छोराले पैसा मागेर यस्तो काम गरेको हो कि भन्ने चिन्ता आमालाई थियो। तर विवेकले कसैसँग पैसा नमागेको थाहा पाएपछि उनलाई छोराप्रति गर्व लाग्यो।
यद्यपि, १२ वर्षको छोरा अपरिचित मानिसहरूको भीडमा दैनिक जाने भएकाले उनलाई सुरक्षाको चिन्ता पनि छ।
प्रमिलाको परिवार आफैं पनि आर्थिक अभावसँग जुधिरहेको छ। उनका श्रीमान् हरि केही समयअघि मस्तिष्कघात भएपछि नियमित काम गर्न सक्ने अवस्थामा छैनन्।
त्यसपछि परिवारको जिम्मेवारी प्रमिलाको काँधमा आएको छ। उनी अरूको घरमा बिरामीको स्याहार गरेर महिनामा करिब १८ देखि २२ हजार रुपैयाँसम्म कमाउँछिन्। त्यही आम्दानीबाट कोठा भाडा, खाना, छोराछोरीको पढाइ र श्रीमानको औषधि उपचार धान्नुपर्छ।
कतिपय दिन परिवारलाई खानसमेत समस्या हुने प्रमिला बताउँछिन्।
तर यही अभावबीच हुर्किरहेका विवेकले अरूको पीडा बुझ्न सिकेका छन्।
आफ्नो परिवारका कोही बाढीमा बेपत्ता नभए पनि उनी अरूका परिवारका लागि अस्पताल पुगिरहेका छन्। बेपत्ताका तस्वीर टाँसिरहेका छन्। कसैले आफ्नो प्रियजनको तस्वीर देखेर पहिचान गर्न सक्ला र कुनै परिवारले आफ्नो मान्छेको खबर पाउन सक्ला भन्ने आशामा उनी सहयोग गरिरहेका छन्।
सानो उमेरमा विवेकले देखाएको यो मानवीय भावनाले बाढीको पीडाबीच एउटा ठूलो सन्देश दिएको छ—सहयोग गर्न उमेर ठूलो हुनुपर्दैन, मन ठूलो हुनुपर्छ।