काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १ हजार ११४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र नुवाकोटमा १५५ जनाको शव फेला परेको छ।
त्यस्तै गोरखामा ६६, धादिङमा ५९, तनहुँमा ३८ र रसुवामा ४१ जनाको मृत्यु पुष्टि भएको छ। फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्रै सनाखत गरी आफन्तलाई बुझाइएको छ। अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, स्थानीय बासिन्दा तथा जलविद्युत आयोजनामा कार्यरत श्रमिकसमेत छन्।
विपद् प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाको हवाई उद्धारमार्फत मात्रै ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको छ। उद्धार तथा सुरक्षाका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा अन्य १५ प्रभावित पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको छ।