काठमाडौं । भोटेकोसी बाढीपछि जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका कर्मचारी तथा मजदूरको खोजी तथा उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली परिचालन भइरहेको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा सम्पर्कविहीन व्यक्तिको खोजी कार्य जारी रहेको जानकारी दिए। उनका अनुसार सुरुङ उद्धारका लागि भारतीय, चिनियाँ र कोरियाली विशेषज्ञ टोली परिचालन गरिएको छ।
प्रधानमन्त्री शाहले भोटेकोसी बाढीबाट ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको पनि जानकारी दिए। क्षतिग्रस्त केही आयोजना पुनः सञ्चालनमा ल्याउन ठूलो खर्च लाग्ने अवस्था देखिएको उनले बताए।
सरकारले सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै आवश्यक प्राविधिक जनशक्ति र उपकरण परिचालन गरिरहेको जनाएको छ।