काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विनाशकारी बाढी जलवायु परिवर्तनसँग समेत सम्बन्धित रहेको बताएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको भन्दै यस विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताए।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकमा विपद्को जोखिम बढिरहेको उल्लेख गरे। रसुवाको पछिल्लो विपद्लाई नेपालले मात्र सामना गर्ने विषय नभई विश्व समुदायको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने उनको भनाइ छ।
उनले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अन्तर्राष्ट्रिय तहमा गम्भीर छलफल आवश्यक रहेको बताए। पछिल्लो विपद्ले हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई थप स्पष्ट पारेको भन्दै त्यसतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए।