काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। ग्यास बोकेका बुलेट काठमाडौं आउन नसक्ने अवस्था बनेपछि नेपाल आयल निगमले तत्कालका लागि ग्यास वितरणमा नयाँ व्यवस्था लागू गरेको हो।
निगमले होटल, रेस्टुरेन्ट, क्यान्टिनलगायत व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरण पूर्णरूपमा रोक्ने निर्णय गरेको छ। बजारमा आउने ग्यास अब घरायसी तथा अत्यावश्यक उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण गरिनेछ। विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, आश्रम, अपाङ्गता भएका व्यक्ति तथा बाढी प्रभावितका लागि सञ्चालन गरिएका केन्द्रलाई विशेष प्राथमिकता दिइने निगमले जनाएको छ।
आपूर्ति सहज बनाउन उपत्यकाका ग्यास उद्योगले तराईका उद्योगबाट सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ। व्यवसायी तथा ठूला व्यावसायिक उपभोक्ताले भने आफ्ना खाली सिलिन्डर तराईमा लगेर आफैं ग्यास व्यवस्थापन गर्नुपर्नेछ। साथै, कृत्रिम अभाव र कालोबजारी रोक्न आयल निगमको द्रुत प्रतिक्रिया टोलीमा ग्यास विक्रेताका दुई प्रतिनिधिलाई समेत सहभागी गराउने निर्णय गरिएको छ।