धरान। श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक आज धरानमा सुरु हुँदैछ। धरानस्थित होटल गोर्खामा बस्ने बैठकमा पार्टीसँग चार महिनाअघि एकता गरेको सुदन किराँती पक्षलाई भने सहभागी हुन निमन्त्रणा नगरिएको जनाइएको छ।
किराँती पक्षका एक नेताका अनुसार बैठकबारे आफूहरूलाई अहिलेसम्म कुनै औपचारिक जानकारी वा निमन्त्रणा आएको छैन। पार्टी एकताका क्रममा सुदन किराँतीलाई वरिष्ठ नेता बनाउँदै उनको समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य गरी १८ जना श्रम संस्कृति पार्टीमा समावेश भएका थिए।
एकतापछि पार्टीको केन्द्रीय समितिमा दुवै पक्षका गरी ४१ जना सदस्य छन्। यसअघि पार्टी अध्यक्ष हर्क सम्पाङको सामाजिक सञ्जाल तथा विभिन्न कार्यक्रममा सुदन किराँतीलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिएको भन्दै किराँती पक्षले अहिलेको अवस्थाप्रति असन्तुष्टि जनाएको छ। पूर्वी नेपालमा भएको पार्टीका विभिन्न अभियानमा किराँती सक्रिय रूपमा सहभागी हुँदै आएका थिए।