दमक । विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोगी हातहरू अघि बढिरहेका बेला झापाको दमकका एक सिटी सफारी चालकले आफ्नो आजको सम्पूर्ण कमाइ विपद् प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।
दमक नगरपालिका–५, नारायण गोपाल टोल निवासी प्रमोद राईले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आफ्नो सिटी सफारीबाट आज हुने आम्दानीसँगै परिवारले सञ्चालन गर्दै आएको चटपटे तथा सानो किराना पसलको आजको कमाइसमेत जोडेर सहयोग गर्ने भएका हुन् ।
विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारसँग ऐक्यबद्धता जनाउँदै सरकारको राहत तथा पुनःस्थापना अभियानमा आफ्नो तर्फबाट सहयोग पुर्याउने उद्देश्यले राईले “आजको कमाइ मेरो देश र जनताका लागि” भन्ने भावनासहित यो अभियान अघि सारेका हुन् ।
आफूले ठूलो रकम सहयोग गर्न नसके पनि आफ्नो दैनिक श्रमबाट प्राप्त आम्दानीको केही हिस्सा विपद्मा परेका नागरिकका लागि समर्पण गर्न पाउँदा खुसी लागेको राईले बताएका छन् । साथै उनले आफ्नो सानो प्रयासले अरूलाई पनि विपद्का बेला सहयोगका लागि अघि बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।
राईको यस कार्यको प्रशंसा गर्दै दमकका सामाजिक व्यक्तित्व सुरेन्द्र कुमार श्रेष्ठले विपद्को समयमा आर्थिक हैसियतभन्दा पनि मानवीय भावना र सहयोगको संस्कार महत्वपूर्ण हुने बताए । सामान्य परिवारका एक सिटी सफारी चालकले आफ्नो श्रमको कमाइसमेत प्रभावित नागरिकका लागि समर्पण गर्नु समाजका लागि प्रेरणादायी र अनुकरणीय कर्म भएको श्रेष्ठको भनाइ छ ।
राईको यो पहलले ‘सहयोग गर्न ठूलो धन चाहिँदैन, ठूलो मन चाहिन्छ’ भन्ने सन्देशसमेत दिएको छ। विपद्को समयमा हरेक नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्न सके प्रभावित परिवारको पीडामा केही राहत पुग्ने विश्वास गरिएको छ ।