काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
भोटेकोशी र त्रिशूली नदीमा हाल जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार चीन सरकारबाट प्राप्त सूचना र भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषण गर्दा १० भदौमा बाढी आएको क्षेत्रमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको पाइएको छ।
उक्त ताल फुटेमा पानीसँगै ढुङ्गा, माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम रहेको छ।
हाल भोटेकोशी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल रहे पनि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
बाढीको खतरा बढेमा पूर्वसूचना जारी गरिने महाशाखाले जनाएको छ।