झापा, भदौ ९ — झापाको दमकस्थित एक होटलमा नाबालिकालाई यौन शोषणमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक–८ स्थित मनकामना होटल एण्ड लजका सञ्चालक ५५ वर्षीय गणेशप्रसाद अधिकारी र बालिकालाई होटलसम्म पुर्याएको आरोप लागेकी मोरङ केराबारीकी पार्वती ऋषिदेव रहेका छन्।
प्रहरीका अनुसार नाबालिका केही दिनअघि परिवारको सम्पर्कबाट बाहिरिएपछि आफन्तले इलाका प्रहरी कार्यालय दमकमा खोजतलासका लागि निवेदन दिएका थिए। खोजीका क्रममा प्रहरीले उनलाई भदौ ४ गते उक्त होटलबाट फेला पारेको थियो।
घटनाबारे अनुसन्धान गर्दा ऋषिदेवले बालिकालाई प्रलोभनमा पारी होटलमा पुर्याएको र होटल सञ्चालक अधिकारीले शोषणमा लगाएको खुलेको प्रहरीले जनाएको छ।
दुवै जनालाई पक्राउ गरी भदौ ७ गते झापा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।