झापा, भदौ ८ — झापाको बिर्तामोडस्थित सैनिकमोड क्षेत्रमा प्रहरीले होटलहरूमा विशेष सर्च अपरेशन सञ्चालन गर्दा १३ जनालाई पक्राउ गरेको छ।
मेची आँखा अस्पताल क्षेत्रका होटलहरूमा अनैतिक गतिविधि भइरहेको गुनासो आएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले गएराति करिब ८ बजेदेखि छापा मारेको हो। प्रहरीले होटल सेभेन इन, आसामलगायतका होटलमा गरेको कारबाहीका क्रममा तीनजना होटल सञ्चालक, चारजना पुरुष ग्राहक र ६ जना महिलालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्ने होटल सञ्चालकमा प्रकाश घिमिरे, गंगा गुरुङलगायत रहेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकका अनुसार गुनासो आएका होटलहरूमा लक्षित रूपमा सर्च अपरेशन गरिएको हो।
प्रहरीका अनुसार सैनिकमोड क्षेत्रका केही होटलमा यौन शोषणसँगै लागूऔषध कारोबारसमेत हुने गरेको गुनासो प्राप्त भएको छ। उक्त क्षेत्रमा साना–ठूला गरी करिब ५० वटा होटल सञ्चालनमा रहेको बताइएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।