हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सरकारमा मन्त्री बनेका आफ्ना तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुख अप्सरा चापागाईंलाई पत्र पठाउँदै पार्टीको निर्देशन, ह्विप तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गरेर सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गर्न आग्रह गरेका हुन्।
राप्रपाका अनुसार पार्टीको पटक–पटकको निर्देशन अवज्ञा गर्दै सरकारमा सहभागी भएको भन्दै केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको हो। बागमतीका मुख्यमन्त्री किरण थापा मगरले भदौ ४ गते उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए।
यसअघि राप्रपाले प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पनि प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न पत्राचार गरेको थियो। तीन मन्त्री र दलका नेता थापालाई स्पष्टीकरणको मौका दिइए पनि पार्टीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
राप्रपाको पत्र प्रदेशसभा सचिवालयमा विचाराधीन अवस्थामा छ। उपसभामुख चापागाईंले संविधान, प्रदेशसभा सम्बन्धी कानुन तथा प्रचलित व्यवस्थाको अध्ययन गरी आवश्यक सिफारिस पेश गर्न प्रदेशसभा सचिवलाई निर्देशन दिएकी छन्।