काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन् ।
नगरकोटमा आयोजित जनसङ्गठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले अराजकताबाट आएका शक्तिलाई देशको जिम्मेवारी दिन नसकिने बताएका हुन् । उनले मुलुकमा लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको आरोप लगाउँदै त्यसलाई पुनःस्थापित गर्नुपर्ने बताए ।
ओलीले अहिले नागरिकमा त्रासको वातावरण सिर्जना भएको दाबी गरे । सामाजिक सञ्जालमा सही कुरा लेख्दा समेत गाली र आक्रमणको सामना गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । उनले गणतन्त्र ल्याउन भूमिका खेलेका शक्तिहरू कसैसँग नडराउने पनि बताए ।
‘यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन,’ ओलीले भने, ‘बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र ?’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बहुमत दिएर सरकार बनाएकोमा जनताले पश्चात्ताप गरिसकेको दाबीसमेत गरे । सरकारविरुद्ध जनता आफैँ आन्दोलनमा उत्रिनुपर्ने भन्दै ओलीले एमालेको पार्टीपंक्तिलाई त्यसका लागि तयारी अवस्थामा रहन निर्देशन दिए।