राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टी निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा मन्त्री बनेका तीन प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभा सदस्यहरू राजु बिष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिएको हो ।
राप्रपाका अनुसार संसदीय दलका नेता उद्धव थापाले निजी लेटरप्याड प्रयोग गरी पार्टीको तर्फबाट भन्दै बागमती प्रदेश सरकारलाई समर्थन गरेको विषयमा पार्टीले थापाको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको जानकारी गराइसकेको थियो ।
पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश सरकारको मन्त्री पदको शपथ ग्रहण गरेको भन्दै तीन सांसदसँग स्पष्टीकरण मागिएको हो ।
राप्रपाले पार्टी निर्णय तथा निर्देशनको उल्लङ्घन गरेको ठहर भएमा उनीहरूमाथि अनुशासनात्मक कारबाही अघि बढाउने सङ्केत गरेको छ ।