सप्तरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिदका लागि आज बिहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु आदेश खुकुलो पारेको छ।
प्रशासनले सो अवधिमा नागरिकलाई आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज बनाएको जनाएको छ। साथै, कार्यालयको अनुमति लिएर सद्भाव र्याली सञ्चालन गर्नका लागि पनि कर्फ्यु केही खुकुलो गरिएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार तोकिएको समय सकिएपछि कर्फ्यु पूर्ण रूपमा लागू हुनेछ। उनले कर्फ्यु अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला भएर हुलदंगा, अशान्ति वा कुनै पनि प्रकारका उच्छृङ्खल गतिविधि गरे वा गराएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन्।
सप्तरीको बोदेबरसाइन क्षेत्रमा साउन १४ गते राति १० बजेदेखि र राजबिराज क्षेत्रमा साउन १५ गते बिहान ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीद्वारा कर्फ्यु आदेश जारी गरिएको थियो।
प्रशासनले सबै नागरिकलाई तोकिएको समयपछि कर्फ्युको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति र सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।