काठमाडौं । सुनसरीको कप्तानगञ्जमा आइतबार हिन्दू-मुस्लिम झडपपछि उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न सुरक्षा निकायका प्रमुखसँग बुधवार दिउँसो परामर्श गरे ।
उनले पनि सोमबार गृहमन्त्री सुधन गुरुङले झैँ ‘गोली कसरी चल्यो ?’ भन्ने प्रश्न सोधिरहे, जवाफ पाएनन् ।
सहभागी स्रोतका अनुसार प्रधानमन्त्री शाहले सुनसरी घटनाको कारण र समाधानमा भन्दा ‘गोली किन चल्यो ?’ भन्नेमा विषयमै आफ्नो चासो राखे । त्यहाँ उपस्थित प्रहरी आईजी दानबहादुर कार्की र सशस्त्र आईजी नारायणदत्त पौडेलतिर हेर्दै प्रधानमन्त्री शाहले ती जिज्ञासा राख्दा दुवैले केही जवाफ दिएनन् ।
बैठकमा सुनसरी घटनाबाहेकका विषयमा पनि छलफल भयो । मिटरब्याज पीडित आन्दोलन, दुर्गा प्रसाईको मार्चपास, चिकित्सक आन्दोलन, एजुकेशन कन्सल्टेन्सी सञ्चालकको आन्दोलनलगायतका विषयमा चर्चा भयो । प्रधानमन्त्री शाहचाहिँ सुनसरीमा गोली कसले चलायो भन्ने मात्रै जिज्ञासामा केन्द्रित थिए ।
उनले सुरक्षा व्यवस्थापनका लागि सम्बन्धित संगठनले बनाउने योजना तथा शान्ति सुरक्षा कायम गर्ने विषयमा हस्तक्षेप नहुने बताए । तर, सुनसरी घटनामा चलेको गोलीबारे निरन्तर चासो राखिरहे ।
नेपाल प्रहरीका आईजी कार्कीले गोली चल्नु, मानिसको ज्यान जानू, आगजनी हुनु, विभिन्न व्यक्तिमाथि अभद्र व्यवहार हुनु लगायतका विषयमा अनुसन्धान भइरहेको भने। तर, प्रधानमन्त्रीले त्यति कुरामा मात्रै चित्त बुझाएनन् । उनी गोली चलाउने व्यक्तिसम्मको पहिचानमा केन्द्रित थिए । यद्यपि जवाफ पाएनन् ।
सुरक्षा स्रोतका अनुसार शान्ति सुरक्षा कायम गर्दा र भिडलाई नियन्त्रण गर्दा आदेशबमोजिम बल प्रयोग गर्ने, त्यसो गर्नका लागि आदेश दिने र कार्यान्वयन गर्ने मान्छेको नाम-दर्जा सोध्ने कुराप्रति सुरक्षा प्रमुखहरूले आपत्ति जनाएका छन् ।