गौरादह, झापा। क्लब हिमालयन टाइगर गौरादहको चौथो वार्षिक साधारणसभा शनिबार गौरादहस्थित लायन्स चिल्ड्रेन पार्कमा सम्पन्न भएको छ।
साधारणसभामा गौरादह नगरपालिकाकी उपप्रमुख जलपर्षा राजवंशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा क्लबका केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारी, गौरादह–२ का वडाध्यक्ष गोपाल कोइराला, गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, स्कुलचौन उच्च माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक बाबुराम भण्डारी लगायत विभिन्न सामाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबले स्थापनाकालदेखि सञ्चालन गर्दै आएका सामाजिक सेवा, युवा सशक्तीकरण, खेलकुद, वातावरण संरक्षण तथा सामुदायिक विकाससँग सम्बन्धित गतिविधिहरूको समीक्षा गरिएको थियो। साथै आगामी वर्षका लागि संस्थागत विकास, सामाजिक उत्तरदायित्व र जनसेवामूलक कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
वक्ताहरूले क्लब हिमालयन टाइगरले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा अझ सक्रिय भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए।
साधारणसभामा क्लबका पदाधिकारी, सदस्य, शुभेच्छुक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
