काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान एउटा कारमा आगलागी हुँदा कारभित्र रहेका एक पुरुषको जलेर मृत्यु भएको छ।
बा ५ च ३०३८ नम्बरको कारमा एक्कासी आगो लागेको देखेपछि स्थानीयवासी घटनास्थलमा पुगेका थिए। कारभित्र एक व्यक्ति देखिएपछि ढोका खोल्ने प्रयास गरिए पनि सफल हुन सकेन। त्यसलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार प्रहरी पुग्दासम्म चालक बस्ने सिटमा सिटबेल्ट लगाएको अवस्थामा कारभित्रै एक पुरुष जलेर मृत्यु भएको अवस्थामा फेला परेका थिए।
मृतकको पहिचान सुरेश चन्द श्रेष्ठका रूपमा भएको प्रहरीले जनाएको छ। उनी उक्त कारका चालक तथा धनीसमेत रहेको खुल्न आएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कार नबिल बैंकबाट ऋण लिएर खरिद गरिएको पनि खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कारमा आगो लाग्दासमेत चालक बाहिर ननिस्किएको तथा एकैपटक सम्पूर्ण कारमा आगो फैलिने सम्भावना कम हुने भएकाले घटना भवितव्यभन्दा पनि आफैं सिर्जित हुन सक्ने कोणबाट अनुसन्धान अघि बढाइएको छ।
एक अनुसन्धान अधिकृतका अनुसार आगो लाग्न थालेपछि बाहिर निस्कने समय सामान्यतया हुने भएकाले आत्महत्याको उद्देश्य हुन सक्ने आशंकासमेत गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारण भने अनुसन्धान र पोस्टमार्टम प्रतिवेदनपछि मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
