कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। उनीहरू भीमदत्त नगरपालिका–१९, बागफाँटा क्षेत्रका बासिन्दा हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार बिहान करिब ११ बजेतिर महिलाहरू च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ गएका थिए। उनीहरू मालुमेला पोष्ट हुँदै निकुञ्जभित्र प्रवेश गरेका थिए।
सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।
प्रहरीका अनुसार उनीहरू ९ जना र ५ जनाको दुई समूह बनाएर च्याउ खोज्न जंगलतर्फ गएका थिए। साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका हुन्।
हाल प्रहरी, निकुञ्ज प्रशासन र स्थानीयको समन्वयमा सम्पर्कविहीन महिलाहरूको खोजी कार्य तीव्र पारिएको छ। उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
