अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित ६ जना विद्यार्थी नेताको पक्राउको विरोधमा ११ वटा विद्यार्थी संगठनले संयुक्त रूपमा सरकारको आलोचना गर्दै तत्काल रिहाइको माग गरेका छन्।
बुधबार बिहान सिंहदरबारको मुख्य गेटअगाडि ‘राज्य आतंक बन्द गर’ भन्ने नारासहित प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन्।
संयुक्त विज्ञप्तिमा आलोचनात्मक आवाजमाथि दमन गरिएको आरोप लगाउँदै विद्यार्थीहरूमाथिको धरपकडलाई लोकतान्त्रिक मूल्यविपरीत कदमको रूपमा व्याख्या गरिएको छ। संगठनहरूले सांकेतिक विरोध कार्यक्रममाथि राज्यले बल प्रयोग गरेको भन्दै त्यसको भर्त्सना गरेका छन्।
विज्ञप्तिमा पक्राउ परेका सम्पूर्ण विद्यार्थी नेताहरूलाई बिनाशर्त रिहा गर्न माग गरिएको छ। साथै, राज्यको दमनकारी गतिविधि नरोकिए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिइएको छ।
संयुक्त विज्ञप्तिमा विभिन्न विद्यार्थी संगठनका अध्यक्ष तथा पदाधिकारीहरूको हस्ताक्षर रहेको छ। विद्यार्थी संगठनहरूले लोकतान्त्रिक अधिकारको सम्मान गर्न र शान्तिपूर्ण विरोधमाथिको हस्तक्षेप बन्द गर्न सरकारसँग आग्रह गरेका छन्।
