जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ठाकुरले सरकारलाई अकार्यकुशल भएको आरोप लगाउँदै प्रधानमन्त्री शाहको शैलीमाथि तीव्र आलोचना गरे। उनले सरकारले जनतालाई दिएका प्रतिबद्धता पूरा गर्न नसकेको दाबी गर्दै देशमा निराशा बढ्दै गएको बताए।
ठाकुरले ट्रेड युनियन, विद्यार्थी संगठनलगायत विभिन्न संगठित संस्थामाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाए। उनका अनुसार सरकारले संगठित संस्थाहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको छ, जसले लोकतान्त्रिक अभ्यासलाई प्रभावित पार्न सक्छ।
उनले कर्मचारी प्रशासनमाथि पनि सरकारले दबाब सिर्जना गरेको आरोप लगाए। दरबन्दीमा रहेका कर्मचारीहरूलाई हटाउने प्रयासले प्रशासनिक क्षेत्रमा असन्तुष्टि र आन्दोलनको अवस्था उत्पन्न भएको उनको भनाइ थियो।
सांसद ठाकुरले सरकारका वाचा पूरा नभएको भन्दै देशमा आर्थिक तथा सामाजिक चुनौती बढ्दै गएको दाबी गरे। उनले व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको र राजनीतिक नेतृत्वसमेत असुरक्षित महसुस गर्न थालेको टिप्पणी गरे।
शिक्षा र स्वास्थ्य क्षेत्रको सन्दर्भ उठाउँदै ठाकुरले निजी विद्यालय र नर्सिङ होममाथि भइरहेको कडाइप्रति पनि चिन्ता व्यक्त गरे। यस्ता संस्थामाथि अत्यधिक दबाब परे लाखौं विद्यार्थी, शिक्षक तथा स्वास्थ्यकर्मीको भविष्य प्रभावित हुन सक्ने उनको भनाइ थियो।
