काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। यससँगै पौडेलमाथि अनुसन्धानका लागि पाँचौं पटक म्याद थप गरिएको हो।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार थप ३ दिनको म्याद स्वीकृत गरेको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि क्रमशः असार ९ गते ७ दिन, असार १५ गते ३ दिन, असार १८ गते ६ दिन र असार २४ गते ५ दिनको म्याद थप गरिएको थियो।
अनुसन्धान जारी रहेकाले थप समय आवश्यक परेको भन्दै अनुसन्धान निकायको मागअनुसार अदालतले पुनः म्याद थप गरेको स्रोतले जनाएको छ।
यसैबीच, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट भने खारेज भएको छ। सर्वोच्चले रिट खारेज गरेसँगै उनीमाथिको अनुसन्धान प्रक्रिया यथावत् अघि बढ्ने भएको छ।
– युक्ति टाइम्स
