काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मूलगेटमा बेवारिसे अवस्थामा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी रवि जयसवालको भएको खुलेको छ।
यातायात व्यवस्था कार्यालय, एकान्तकुनाको अभिलेखअनुसार उक्त गाडी जयसवालको नाममा दर्ता रहेको पुष्टि भएको छ। जयसवाल रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवारका कान्छा छोरा हुन्।
गरुडा नगरपालिकाका प्रमुख कलवारले गाडी आफ्ना छोरा रविको भएको स्वीकार गर्दै छोराले आफ्नै व्यवसायबाट आर्जित रकमले केही महिनाअघि मात्रै उक्त गाडी खरिद गरेको बताएका छन्। उनले घटनाबारे आफूलाई पूर्ण जानकारी नभएको उल्लेख गर्दै छोरासँग हालसम्म सम्पर्क हुन नसकेको बताए।
जयसवाल राजनीतिक रूपमा पनि सक्रिय रहेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भई पार्टीको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यको जिम्मेवारीमा समेत रहेका थिए।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा उनले रौतहट क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनले ४ हजार २७२ मत प्राप्त गरेका थिए।
व्यवसायिक रूपमा विभिन्न देशबाट कोइला आयात गरी नेपालका उद्योग तथा कारखानाहरूलाई आपूर्ति गर्ने कार्यमा संलग्न जयसवाल रौतहटको गरुडा नगरपालिका–वैरियाका स्थायी बासिन्दा हुन्। उनी प्रायः काठमाडौंमा बसोबास गर्दै आएका छन्।
कान्तिपुर पब्लिकेसन्सको मूलगेटमा उक्त गाडी छाडिएको घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।
– युक्ति टाइम्स
