काठमाडौं । ब्लगर तथा फ्याक्टचेकर उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हो।
श्रेष्ठले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्।
नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आएका पदाधिकारीप्रति सरकारको उच्च अपेक्षा रहेको बताए। सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा श्रेष्ठलाई छनोट गरेको उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिल नेपालको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे।
उनले वर्तमान समयमा गलत सूचना तथा दुष्प्रचार सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा देखिएको भन्दै त्यसको पहिचान, नियन्त्रण र समाधानका लागि काउन्सिलले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए।
नवनियुक्त अध्यक्ष श्रेष्ठले प्रेस स्वतन्त्रता, पत्रकारिताको आचारसंहिता तथा तथ्यमा आधारित सूचनाको प्रवर्द्धनका लागि आफू प्रतिबद्ध रहने बताएका छन्।
