सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।
रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए। घर भाडामा लिएर कवाडी संकलनको काम गर्दै जीविकोपार्जन गरिरहेका उनका पाँच सन्तानमध्ये तीन जना आइतबार दिउँसो करिब २ः३० बजे घरबाट खेल्न निस्किएका थिए।
खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउन गएको र सोही क्रममा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उक्त खाल्डो गाई, गोरु तथा भैंसीलगायत पशुहरूलाई पानी खुवाउने प्रयोजनका लागि निर्माण गरिएको बताइएको छ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा बालबालिकालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो। तर चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।
घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
