काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाहको घटनामा ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर गृहमन्त्री गुरुङले मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन्।
यसैबीच, आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका नेपालीको परिवारसँग सरकारले आइतबार ९ बुँदे सहमति गरेको छ। सहमतिका बुँदाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। मोटरसाइकलमा लगाइएको ह्विललक हटाउने विषयमा प्रहरीसँग विवाद भएपछि उनले उक्त कदम चालेको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ।
गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको थियो।
घटनापछि सरकारमाथि पीडित परिवारको माग सम्बोधन गर्न दबाब बढेको थियो। सोही क्रममा परिवारसँग सहमति गर्दै सरकारले विभिन्न राहत तथा व्यवस्थापनका विषयमा पहल अघि बढाएको जनाएको छ।
