काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेपछि बिक्रीवितरण रोक्दै पेट्रोल पम्प बन्द गरेर कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ।
सरकारले मंगलबार पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य उल्लेख्य रूपमा घटाएपछि काठमाडौं उपत्यकाका केही पेट्रोल पम्पले तेल मौज्दात हुँदाहुँदै पनि बिक्री नगरेको भन्दै उपभोक्ताबाट व्यापक गुनासो आएको थियो। त्यसपछि उद्योग मन्त्रालयको समन्वयमा नेपाल आयल निगम, काठमाडौं जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायको संयुक्त टोलीले विभिन्न पेट्रोल पम्पमा अनुगमन गरेको हो।
उद्योग मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार अनुगमनका क्रममा केही पेट्रोल पम्पमा पर्याप्त इन्धन हुँदाहुँदै उपभोक्तालाई बिक्री नगरेको भेटिएको छ। त्यस्ता व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले जानकारी दिए।
'बिहानैदेखि उपभोक्ताबाट लगातार गुनासो आएका कारण सबै अनुगमन संयन्त्र परिचालन गरेका छौं। अनुगमनको विस्तृत प्रतिवेदन आउन बाँकी छ। कैफियत देखिएका व्यवसायीमाथि कानुनबमोजिम कारबाही हुन्छ,' सुवेदीले बताएका छन्।
उनका अनुसार अनुगमन सुरु भएपछि केही पेट्रोल पम्पले पुनः इन्धन बिक्रीवितरण सुरु गरेका छन् भने उपभोक्ताबाट आउने गुनासोसमेत क्रमशः घट्दै गएको छ।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि केही व्यवसायीले पेट्रोल पम्प बन्द गरेर कृत्रिम अभाव सिर्जना गरेको घटनाप्रति सर्वसाधारणले तीव्र असन्तुष्टि जनाएका थिए। सरकारले उपभोक्ताको हितविपरीत हुने यस्ता गतिविधिमाथि कडाइ गर्ने संकेत दिएको छ।
