काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी अघि बढाएको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले डिजिटल सरुवा प्रणाली विकासको काम सुरु गरेको हो।
मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीको व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसनमार्फत जोडिने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था गरिनेछ।
सरुवा आवेदन व्यवस्थापनका लागि प्रणालीमा ‘फ्ल्यागिङ’ सुविधा पनि रहनेछ। यसबाट दोहोरिएका, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदन सहज रूपमा पहिचान गर्न सकिने मन्त्रालयले जनाएको छ। साथै कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी ‘प्रोसेस ट्र्याकिङ’ प्रणालीमार्फत अनलाइनमै हेर्न सक्नेछन्।
मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन्। आवश्यक परे अन्य सरकारी निकायका प्रणालीसँग समेत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था मिलाइनेछ। त्यस्तै, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था गरिनेछ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको बताइन्।
उनले प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ कम हुने, पारदर्शिता बढ्ने र कर्मचारीले सहज, छिटो तथा विश्वासयोग्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।
