लागूऔषधको बढ्दो कारोबार र दुर्व्यसनले गम्भीर सामाजिक चुनौतीको रूप लिँदै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले आजदेखि जिल्लाव्यापी ‘लागू औषध विरुद्ध झापा अभियान’ औपचारिक रूपमा सुरु गर्दैछ।
अभियानको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिर्तामोडमा गर्ने कार्यक्रम छ भने प्रहरी महानिरीक्षक दानबहादुर कार्की विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।
बिर्तामोड नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको यो अभियानलाई एकदिने औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी निरन्तर जनचेतनामूलक र नियन्त्रणमुखी अभियानका रूपमा अघि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले पछिल्लो समय लागूऔषधको अवस्था कल्पना गरेभन्दा भयावह बन्दै गएको भन्दै त्यसविरुद्ध सबै क्षेत्रलाई एकै ठाउँमा उभ्याउने उद्देश्यले अभियान सुरु गरिएको बताए।
उनका अनुसार अभियानअन्तर्गत विद्यालय, कलेज, स्थानीय तह, समुदाय, अभिभावक, युवा क्लब, उद्योग–व्यवसायी तथा नागरिक समाजलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, परामर्श, अभिमुखीकरण तथा समुदायसँग प्रत्यक्ष जोडिने गतिविधि सञ्चालन गरिनेछ।
‘लागूऔषध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी होइन। सम्पूर्ण जिल्लावासीलाई संवेदनशील र जिम्मेवार बनाउने उद्देश्यले अभियान सुरु गरिएको हो,’ उनले भने।
सीमापारबाट हुने आपूर्तिले बढ्दो चुनौती
भारतसँग खुला सीमा जोडिएको झापा पूर्वी नेपालको लागूऔषध कारोबारको प्रमुख ट्रान्जिट पोइन्टका रूपमा चिनिन थालेको छ।
सीमावर्ती भारतीय बजारबाट विभिन्न प्रकारका लागूऔषध सहज रूपमा नेपाल भित्रिने गरेका कारण जिल्लामा यसको प्रयोग र कारोबार दुवै तीव्र रूपमा विस्तार भएको सुरक्षा निकायको निष्कर्ष छ।
जिल्लामा लागूऔषध प्रयोगकर्ताको आधिकारिक तथ्यांक नभए पनि २० हजारभन्दा बढी व्यक्ति कुनै न कुनै रूपमा दुर्व्यसनमा रहेको अनुमान प्रहरीको छ।
जिल्लाभर सञ्चालनमा रहेका करिब ४० वटा पुनर्स्थापना केन्द्रमा एकपटकमा औसत १ हजार २०० जनाले उपचार लिने गरेका छन्। उपचारमा नपुगेका र परिवारबाट लुकाइएका प्रयोगकर्ताको संख्या अझ धेरै हुन सक्ने प्रहरीको अनुमान छ।
विद्यालय र कलेजसम्म फैलिएको सञ्जाल
लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूको सञ्जाल पनि झापामा विस्तार हुँदै गएको प्रहरीको विश्लेषण छ। जिल्लाभर सक्रिय ५० भन्दा बढी डिलर रहेको अनुमान गरिएको छ भने उनीहरूका लागि काम गर्ने घुम्ती बिक्रेताको छुट्टै सञ्जाल रहेको बुझिएको छ।
विशेष गरी विद्यालय र कलेजमा अध्ययनरत किशोर–किशोरी तथा युवालाई लक्षित गरेर लागूऔषध पुर्याउने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ। बिर्तामोड क्षेत्रमा मात्र एक दर्जन हाराहारी ठूला डिलर सक्रिय रहेको र उनीहरूका लागि काम गर्ने पाँचदेखि सात समूहसम्म घुम्ती बिक्रेता रहेको सुरक्षा स्रोत बताउँछ।
प्रहरीका अनुसार सुरुमा प्रयोगकर्ताका रूपमा लागूऔषधको सम्पर्कमा पुगेका धेरै युवा पछि आर्थिक लाभका लागि बिक्री–वितरणमै संलग्न हुने गरेका छन्। यसले समस्या झन् जटिल बन्दै गएको देखिन्छ।
पक्राउ बढ्यो,तर नियन्त्रण चुनौतीपूर्ण
प्रहरीले पछिल्ला वर्षहरूमा लागूऔषधसहित पक्राउ पर्ने व्यक्तिको संख्या उल्लेख्य रूपमा बढाएको छ। तर पक्राउको संख्या बढ्दै जाँदा पनि प्रयोगकर्ता र कारोबारीको संख्या घट्नुको सट्टा विस्तार भइरहेको तथ्यले समस्या कानुनी कारबाहीले मात्र समाधान नहुने संकेत गरेको छ।
प्रहरी अधिकारीहरूका अनुसार कानुन कार्यान्वयन आवश्यक भए पनि त्यसले मात्र दुर्व्यसन अन्त्य गर्न सक्दैन। सामाजिक चेतना, पारिवारिक निगरानी, विद्यालयको सक्रियता र स्थानीय सरकारको प्रतिबद्धताबिना समस्या नियन्त्रण सम्भव नहुने उनीहरूको निष्कर्ष छ।
स्थानीय सरकार र परिवारको भूमिका निर्णायक
लागूऔषध दुर्व्यसन नियन्त्रणमा स्थानीय सरकार, अभिभावक, शिक्षक, राजनीतिक दल, सामाजिक संघसंस्था, धार्मिक तथा सामुदायिक अगुवा सबैको साझा जिम्मेवारी रहेको प्रहरीको भनाइ छ। प्रहरी हरेक घरमा पुग्न नसक्ने भएकाले परिवार नै पहिलो निगरानीकर्ता बन्नुपर्ने आवश्यकता औँल्याइएको छ।
स्थानीय तहले युवामुखी कार्यक्रम, खेलकुद, रोजगारी, मनोसामाजिक परामर्श र विद्यालयस्तरीय सचेतना अभियानलाई प्राथमिकता दिए लागूऔषधको जोखिम घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अभियानबाट अपेक्षा
झापामा पहिलोपटक जिल्लाव्यापी रूपमा सुरु हुन लागेको ‘लागूऔषधविरुद्ध झापा अभियान’ ले प्रहरी, स्थानीय सरकार, शैक्षिक संस्था र नागरिक समाजबीच समन्वय बढाउने अपेक्षा गरिएको छ।
बढ्दो दुर्व्यसनलाई सामाजिक अभियानकै रूपमा लिएर नियन्त्रण गर्ने प्रयास सफल भए यसले कोशी प्रदेशका अन्य जिल्लाका लागि समेत नमुना बन्न सक्ने विश्वास गरिएको छ।
