लागूऔषध नियन्त्रण तथा अपराध न्यूनीकरणलाई लक्षित गर्दै झापा प्रहरीले सञ्चालन गरेको दुईदिने विशेष ‘स्वीप अपरेसन’मा १०९ जना लागूऔषध दुर्व्यसनी पक्राउ परेका छन्।
प्रहरीले जिल्लाभर एकसाथ निगरानी र चेकजाँच अभियान सञ्चालन गर्दै ठूलो सङ्ख्यामा प्रयोगकर्तालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानका अनुसार अपरेसनको पहिलो दिन ६ महिलासहित ६८ जना तथा दोस्रो दिन ४१ जना पुरुष पक्राउ परेका छन्। पक्राउ परेकाको साथबाट पहिलो दिन १९ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर र दोस्रो दिन २० ग्राम २० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै झापा प्रहरीले करिब चार किलोग्राम ब्राउन सुगर बरामद गरिसकेको छ। जिल्लामा लागूऔषध कारोबार तथा प्रयोगको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै प्रहरीले यसको नियन्त्रणका लागि समाजका सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।
यसैबीच, झापाको शिवसताक्षी नगरपालिका–३ भोटेपुलमा लागूऔषध सेवन तथा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी धरमपुरका प्रहरी सहायक निरीक्षक रामेश्वर मेहताको नेतृत्वमा खटिएको टोलीले पूर्णकुमार लिम्बुको घरमा बसिरहेका शिवसताक्षी–३ निवासी २७ वर्षीय वीरगन्ज आङदम्बेलाई नियन्त्रणमा लिएको हो।
उनको साथबाट स्पासरेक्सका १० पत्ता र ट्रामाडोलका १० पत्ता बरामद भएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ।
त्यसैगरी, भद्रपुर नगरपालिका–४ डाँगीबारीमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ४ प ५७०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–३ निवासी २७ वर्षीय विकास भुजेल र भद्रपुर नगरपालिका–७ निवासी ३० वर्षीया सरिता राजवंशी रहेका छन्।
प्रहरीका अनुसार जाँचका क्रममा भुजेलले बोकेको प्लास्टिकको पोका भुईँमा फालेपछि त्यसलाई जाँच गर्दा ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। लागूऔषध, मोटरसाइकल तथा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
‘लागूऔषध दुर्व्यसन त्यागौँ, स्वस्थ जीवन रोजौँ, उज्ज्वल भविष्य बनाऔँ’ भन्ने सन्देशसहित जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाभर विशेष स्वीप अपरेसन सञ्चालन गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काले भारतसँगको खुला सीमाको दुरुपयोग गर्दै लागूऔषध कारोबारी सक्रिय हुने गरेको बताउँदै सीमा क्षेत्रसहित जिल्लाका संवेदनशील स्थानमा निगरानी बढाइएको जानकारी दिइन्। उनले लागूऔषध दुर्व्यसनमा फसेकाहरू सुधारको बाटोमा फर्किनुपर्ने, अभिभावकले आफ्ना सन्तानका गतिविधिप्रति सचेत हुनुपर्ने र समाजका सबै पक्षले लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
झापाको १४४ किलोमिटर खुला सीमाका कारण ब्राउन सुगर तथा खैरो हिरोइनजस्ता लागूऔषध नेपाल भित्रिने क्रम चुनौतीपूर्ण बनेको सरोकारवालाहरूको भनाइ छ। लागूऔषधकै कारण विभिन्न आपराधिक गतिविधिमा वृद्धि हुनुका साथै ठूलो मात्रामा आर्थिक स्रोत बाहिरिने गरेको बताइएको छ।
प्रहरीका अनुसार लागूऔषधसहित पक्राउ पर्नेमा १६ देखि ३५ वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेकाले युवा पुस्ता कुलतको दलदलमा फस्दै जानु समाजका लागि गम्भीर चिन्ताको विषय बनेको छ। विज्ञहरूले लागूऔषध नियन्त्रणका लागि प्रभावकारी कानुनी कार्यान्वयन, सीमा क्षेत्रमा कडाइ र समाजव्यापी सचेतना अभियान अपरिहार्य रहेको बताएका छन्।
