नेपाल प्रहरीले हालै गरेको प्रहरी अधिकृतहरूको सरुवामा झापामा कार्यरत अधिकांश अधिकृत गण तथा गैरजिल्ला युनिटमा खटाइएपछि संगठनभित्र असन्तुष्टिको स्वर सुनिन थालेको छ।
संवेदनशील जिल्लाका रूपमा चिनिने झापामा जिम्मेवारी सम्हालिरहेका प्रहरी अधिकृतहरूको कार्यसम्पादनको पर्याप्त मूल्याङ्कन नभएको उनीहरूको गुनासो छ।
प्रहरी प्रधान कार्यालयले गत जेठ १ गते प्रहरी नायब उपरीक्षक (डीएसपी) तहका १४९ जना र प्रहरी उपरीक्षक (एसपी) तहका ४६ जनाको सरुवा गरेको थियो। उक्त सरुवामा झापामा कार्यरत तीन जना डीएसपी पनि परेका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काको काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत महाराजगञ्जस्थित गणमा, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठको जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा तथा इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालको प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत तालिम शाखा नक्सालमा सरुवा गरिएको थियो।
त्यसैगरी गृह मन्त्रालयले केही दिनअघि ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गर्दा झापामा कार्यरत १० जना निरीक्षकको पनि जिम्मेवारी परिवर्तन गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहानलाई प्रहरी वृत्त काठमाडौं, सुमन बानियाँलाई मधेश प्रदेश प्रहरी गण जनकपुर र दाछेकी शेर्पालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रविण श्रेष्ठलाई ट्राफिक प्रहरी वृत्त जनसेवा काठमाडौं, रुपेश राईलाई कोशी प्रदेश प्रहरी गण विराटनगर तथा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईलाई गण्डकी प्रदेश प्रहरी गण पोखरामा खटाइएको छ।
यस्तै, प्रहरी निरीक्षक विपन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटा, इलाका प्रहरी कार्यालय गौरादहमा कार्यरत भुवनबाबु खड्कालाई नेपाल प्रहरी गण नक्साल काठमाडौं तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार कोइरालालाई विशेष सुरक्षा गण जनकपुरमा सरुवा गरिएको छ।
झापामा कार्यरत केही प्रहरी अधिकृतले विभागीय नीति, निर्देशन र आदेशको पालना गर्दै उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरे पनि सरुवाका क्रममा अपेक्षित मूल्याङ्कन हुन नसकेको प्रतिक्रिया दिएका छन्। यद्यपि, प्रहरी संगठनले सरुवालाई नियमित प्रशासनिक प्रक्रिया भन्दै आएको छ।
झापा सुरक्षा व्यवस्थापनका दृष्टिले संवेदनशील जिल्ला मानिन्छ। खुला सीमा, बढ्दो शहरीकरण तथा राजनीतिक गतिविधिका कारण यहाँ कार्यरत प्रहरी अधिकृतले चुनौतीपूर्ण परिस्थितिमा जिम्मेवारी निर्वाह गर्दै आएका छन्।
यस्ता जिल्लामा कार्यसम्पादन गरेका प्रहरी अधिकृतको अनुभव र योगदानलाई संगठनले कसरी मूल्याङ्कन गर्छ भन्ने विषय भने सरुवापछि पुनः चर्चामा आएको छ।
