सीमापारको अपराधबारे झापा प्रहरी उदासीन रहेको विभिन्न घटनाले पुष्टि गरेको छ ।
भारतीय भूमिबाट अपराधी प्रवेश गरी अपराध घटाउँदा र त्यस्ता अपराधीलाई भारतीय प्रहरीले नेपाली भूमिमा घुसेर पक्राउ गरेर लैजाँदासमेत झापा प्रहरीलाई सुइको हुँदैन ।
दुई दिनअघि भारतका कुख्यात अपराधी जहाँगिर खान पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्न खोज्दा नेपाल– भारत सीमा क्षेत्रमा पक्राउ परे । तृणमूल कांग्रेस (टीएमसी) नेता जहाँगिर खान सीमा क्षेत्रबाट पक्राउ परेको घटना भारतभरि सनसनी मच्चियो । केही भारतीय संचारमाध्यमले पानीटंकीबाट पक्राउ परेको भिडियोसहितको समाचार प्रसारण गरे भने केहीले काँकडभिट्टाको चन्दा होटलबाट खान पक्राउ परेको दावी गरे । नेपाल–भारत सीमा क्षेत्रबाटै उनी पक्राउ परेको कुरा प्रमाणित नै भयो । तर, त्यसका बारेमा झापा प्रहरीले अनभिज्ञता प्रकट गर्यो । नेपाल प्रवेश गर्न खोज्ने खान पानीटंकी वा काँकडभिट्टा कहाँबाट पक्राउ परेका हुन् भनेर झापा प्रहरीले खोजीको विषय नै बनाएन । त्यसबारे अहिलेसम्म चासो लिएको छैन ।
भारतीय र नेपाली संचारमाध्यमबाट जहाँगिर खान सीमा क्षेत्रमा पक्राउ परेको थाहा पाएपनि उनलाई भारतीय प्रहरीले कहाँबाट पक्राउ गरेर लगेको भन्ने जानकारी नभएको एक प्रहरी अधिकारीले बताए । उनले नेपालको अन्यत्र ठाउँबाट पक्राउ गरेर भारतीय प्रहरीले काँकडभिट्टा नाका हुँदै लिएर गएको हुनसक्ने अनुमान गरे । भारत पश्चिम बंगालका प्रहरीहरु कसरी नेपालमा प्रवेश गरे र कतिबेला पक्राउ गरेर लिएर गए भन्ने जानकारी नभएको उनले बताए । पक्राउ गरेर आज अदालतमा पेश गरिएका खानका बारेमा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीबाट धेरै गोप्य कुराहरु खुल्दै गएको छ । काँकडभिट्टा नाकाबाट प्रवेश गर्न लागेका खानले नेपालमै बस्ने योजना बनाएका थिए ।
सोमबार नेपाल–भारत सीमाबाट पक्राउ परेका जहाँगिर खानलाई आज डायमण्ड हार्बर अदालतमा पेश गरिएको थियो, जहाँबाट उनलाई ५ दिनको लागि प्रहरी हिरासतमा पठाइएको छ।
अदालत परिसर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। ठूलो संख्यामा प्रहरी बल र केन्द्रीय सुरक्षा बल तैनाथ गरिएका थिए ।
जहाँगिर खानविरुद्ध धेरै गम्भीर आरोपमा मुद्दा दर्ता गरिएको छ। अनुसन्धान एजेन्सीहरूका अनुसार, उनीविरुद्ध धेरै गैर–जमानती धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको हो । यसैकारण अदालतमा सेलको समयमा अतिरिक्त सुरक्षा बढाइएको थियो। मुद्दाको गाम्भीर्यतालाई ध्यानमा राख्दै, प्रहरी अधिकारीहरूको निगरानीमा उनलाई अदालतमा पेश गरिएको थियो। यस सम्पूर्ण घटनाको सबैभन्दा लोकप्रिय पक्ष डायमण्ड हार्बर फौजदारी अदालत बार एसोसिएसनको निर्णय थियो। बार एसोसिएसनले जहाँगिर खानका तर्फबाट कुनै पनि कानुन व्यवसायी अदालतमा उपस्थित नहुने स्पष्ट पारेको छ।
एसोसिएसनका सचिव अधिवक्ता सजल मण्डलले सञ्चारकर्मीसँगको कुराकानीमा अभियुक्तको तर्फबाट कुनै पनि कानुन व्यवसायी उपस्थित हुन तयार नभएको बताए। सजल मण्डलले आरोप लगाए कि जहाँगिर खान एक कुख्यात अपराधी हुन् । उनीविरुद्ध धेरै गम्भीर मुद्दा दर्ता छन्। उनले भने कि अभियुक्तमाथि धारा ११७(२), १२६(२), ३०५(ख), ३२४(५), १०९ र ३०८ लगायत धेरै गम्भीर र गैर–जमानती धाराहरूमा दर्ता गरिएको छ। यद्यपि अनुसन्धान एजेन्सीहरूले मुद्दासँग सम्बन्धित विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्।
यसअघि जेठको दोस्रो साता नेपाल–भारत सीमामा अध्यागमनको नक्कली कागजपत्रसहित भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुई थाई महिला पक्राउ परेका थिए ।
नक्कली अध्यागमनको कागजपत्रको सहयोगमा भारतबाट नेपाल प्रवेश गर्न खोजिरहेका दुई थाई महिलालाई पानीटंकी बोर्डर चेकपोष्टको नयाँ मेची पुलबाट भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा ४३ वर्षीया पिम्चानोक केतला र ३८ वर्षीया मिस चिन्तारा बुद्धफोङ रहेका छन् ।
त्यस्तै बैशाखको अन्तिम साता पनि नेपाल– भारत सीमामा दुई थाई नागरिकसहित चारजना पक्राउ परेका थिए । झापा हुँदै नेपालबाट भारत प्रवेश गर्न खोज्दा उनीहरु पक्राउ परेका थिए । थाई महिलाहरु यौन व्यवसायका लागि नेपाल आउने क्रम बढेको छ । ‘थाई मसाज’ को बहानामा थाई महिलाहरु यौन व्यापार नेटवर्कसँग संलग्न रहेका छन् । ती दुई घटनाका बारेमा पनि झापा प्रहरीले अनभिज्ञता प्रकट गरेको थियो ।
