झापामा डिजिटल अद्यावधिक गर्ने कांग्रेस कार्यकर्ताहरुको संख्या मुश्किलले ६० प्रतिशत पुग्ने भएको छ । जसबाट झापामा करिव १४ हजार कार्यकर्ता पार्टी सदस्य बन्न बंचित हुने भएका छन् ।
पार्टीले जेठ २१ गतेसम्म अद्यावधिक गर्ने समय तोकेको थियो । त्यसलाई बढाएर जेठ २८ अर्थात भोलिसम्म थपिएको छ । हिजो मंगलवारसम्म करिव ५५ प्रतिशतले मात्र अद्यावधिक गरेको जिल्ला पार्टी कार्यालयले जनाएको छ । दुई दिनमा मुश्किलले ६० प्रतिशत पुग्नसक्ने देखिएको छ । गत माघ महिनामा सम्पन्न विशेष महाधिवेशनमा झापामा कांग्रेस क्रियाशील सदस्यहरुको संख्या ३४ हजार २९८ रहेको थियो । त्यसमध्ये यस पटक ६० प्रतिशतले अद्यावधिक गर्दा क्रियाशील सदस्यको संख्या २० हजार ५७८ हुन आउँछ । बाँकी १३हजार ७१९ जना पार्टी सदस्य बन्न बंचित हुने भएका हुन् । नेपाली कांग्रेसले गत बैशाख १ गतेदेखि डिजिटल अद्यावधिक शुरु गरेको थियो । कांग्रेसले आगामी भदौ २४,२५ र२६ गते १५औं महाधिवेशन काठमाण्डौमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
