मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा बिरामीको चाप बढेको छ। सरकारले निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम रोकिएपछि अस्पतालमा बिरामीको सङ्ख्या करिब २५ प्रतिशतले बढेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रविकुमार साहले बताउनुभयो।
यसअघि निजी अस्पतालमा बिमा कार्यक्रम सञ्चालन हुँदा दैनिक सरदर ६ सय बिरामी ओपिडीमा आउने गरेका थिए। हाल दैनिक साढे सात सयभन्दा बढी बिरामी ओपिडीमा आइरहेका छन्। लगातार चार दिनको बिदापछि ओपिडी खुल्दा आठ सयभन्दा बढी बिरामी उपचारका लागि आएको डा. साहले जानकारी दिनुभयो।
कोशी प्रदेश सरकारले सञ्चालन गरेको यो अस्पताल ५० शय्याको हो। तर, हालसम्म अस्पतालले आवश्यक जनशक्ति थप गर्न सकेको छैन। डा. साहका अनुसार अस्पतालमा १५ शय्याको दरबन्दी अनुसार मात्र चिकित्सक र प्राविधिक जनशक्ति उपलब्ध छन्।
अस्पतालले ओएनएम नभएका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा स्वास्थ्य प्राविधिकबाट समेत सेवा दिइरहेको छ। सामान्यतया ५० शय्याको अस्पतालमा करिब २०० जनाको दरबन्दी आवश्यक पर्ने भए पनि मदन भण्डारी अस्पतालमा हाल २८ जनाको मात्र स्वीकृत दरबन्दी रहेको छ। तर अस्पतालले १८२ जना चिकित्सक तथा कर्मचारीमार्फत सेवा दिइरहेको छ।
अस्पतालको पूर्वाधार क्रमशः विस्तार हुँदै गएको छ भने उपकरणका दृष्टिले पनि अस्पताल सुदृढ बन्दै गएको छ। तर, चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी भने अझै बढ्न सकेको छैन।
डा. साहले भन्नुभयो, “चिकित्सक तथा कर्मचारी विभिन्न स्रोतबाट पारिश्रमिक लिने व्यवस्था छ। प्रदेश सरकारले ओएनएम नभएका कर्मचारी तथा चिकित्सकको तलब–पारिश्रमिक पठाउँदैन। सङ्घीय सरकारले इन्टर्नसिपमा आएका छात्रवृत्ति करारका चिकित्सकलाई, र अस्पताल व्यवस्थापन समितिले अन्य कर्मचारी तथा चिकित्सकलाई तलब उपलब्ध गराउँछ।”
तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेलाई २०७४ सालमा उर्लाबारी नगर अस्पतालमा रूपान्तरण गरिएपछि नगरपालिकाले जनशक्ति थप गरेको थियो। पछि प्रदेश सरकारले अस्पताललाई १५ शय्याबाट स्तरोन्नति गरी ५० शय्याको बनाउँदै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामकरण गरेको हो।
कानुनी रूपमा अस्पताल ५० शय्यामा विस्तार भए पनि दरबन्दी भने उही नै छ। हाल छात्रवृत्ति करारका चिकित्सकमार्फत सेवा सञ्चालन भइरहेको छ। करार सकिएसँगै चिकित्सक अभाव हुने समस्या देखिने गरेको छ भने नयाँ छात्रवृत्ति करार नियुक्तिका लागि लामो समय कुर्नुपर्ने अवस्था छ।
पछिल्लो समय स्वास्थ्य बिमा बोर्डले औषधी परेकाे मूल्यभन्दा कममा उपलब्ध गराउन निर्देशन दिए पनि त्यसको स्रोतबारे स्पष्ट व्यवस्था नभएको डा. साहको भनाइ छ। उहाँले एकातिर सरकारी अस्पतालमा सेवाको जिम्मेवारी बढ्दै गएको तर अर्कोतर्फ स्रोत–साधन खुम्चिँदै गएको बताउनुभयो।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेलले भन्नुभयो, “शुक्रबार साँझ बिरामी भएका व्यक्ति सरकारी अस्पतालमा सेवा लिन ४/५ घण्टासम्म कुर्नुपर्ने अवस्था छ।” उहाँका अनुसार सामान्य बिरामी हुँदा पनि सरकारी अस्पतालले आकस्मिक सेवामा भर्ना गर्न नमान्ने समस्या छ। आइतबारको बिदाले विशेषगरी गरिब तथा विपन्न वर्गलाई थप कठिनाइ हुने उहाँको भनाइ छ।
